नेपाली खोज
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • महाशिवरात्रिका अवसरमा मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

महाशिवरात्रिका अवसरमा मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

  • Govinda Karki
  • सोमवार, फाल्गुन १७, २०७७
महाशिवरात्रिका अवसरमा मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

रौतहट, १७ फागुनः महाशिवरात्रिका अवसरमा मौलापुर नगरपालिकास्थित पतौरा पुरातात्विक महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै छ । नगरपालिकाले मेला तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जनाइएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले यही फागुन २७ गते शिवरात्रिमा मेला आयोजना गर्न लागेको उपप्रमुख गौरीशङ्कर जयसवालले बताउनुुभयो । सो अवसरमा नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत रहने छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बढाउन आयोजना हुने मेलाका अवसरमा मन्दिरमा स्थानीय तथा विशेष विधिबाट शिवको पूजाअनुष्ठान गरिने छ । फागुन २६ गतेदेखि नै मेलाको शुभारम्भ गरिने भए पनि मूलपूजा शिवरात्रिको दिन हुनेछ । सोही दिन अपराह्न १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह, अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायत लोकप्रिय नेपाली एवम् भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।

लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको मथुराका कलाकारद्वारा प्रसिद्ध शिवलीला प्रदर्शन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पत्रकार सम्मेलनमा जानकारी दिनुुुभयो । साहका अनुसार फागुन २८ गते भने नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीको सहभागितामा कुस्ती प्रतियोगिता आयोजना हुनेछ । गत वर्ष पनि मधानी महायज्ञ आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई मन्दिरमा विशेष पूजा गर्नुभएको थियो ।

मेला आयोजना हुन लागेको पुरातात्त्विक महादेव मन्दिर एक हजार २०० वर्ष पुरानो रहेको पुरातात्त्विक उत्खननबाट देखिएको थियो । सो मन्दिर पर्यटकका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन नगरपालिकाले संरक्षण एवं प्रचार गर्दैआएको छ । नेकपा प्रदेश नं २ का अध्यक्ष तथा शहरी विकासमन्त्री प्रभुु साहका पहलमा गत वर्षदेखि मन्दिरमा महायज्ञ आयोजना हुँदै आएको हो । देशका थप नयाँ सय पर्यटकीय गन्तव्यमा सो पुरातात्विक मन्दिर पनि छनोट भएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका