कञ्चनपुर, २५ माघ: बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
“पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको छ । (रासस)
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।
मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।
नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।