नेपाली खोज
शनिबार, फाल्गुन १५, २०७७

चाख्ने होइन, अचार ?

चाख्ने होइन, अचार ?

–किरण पौड्याल

इलाम, १९ माघः जाडोमा खानामा पिरोपिरो अचार कति मीठो हुन्छ है । सब्जी, दाल अनि अचारका साथै, अलिलि अकबरे टोक्दै खाना खानुको मजै बेग्लै हुन्छ नि । अनि भनिन्छ नि, थोरै भए पनि अचारले खानालाई स्वादिष्ट बनाउँछ । अचारजस्तो, खाना त्यस्तै । तपाईंलाई अचार के को मन पर्छ ? आँप, तामा, मेथी, अकबरे, लप्सी के को ? मन परेर मात्र के गर्नु पाउनु पनि पर्यो । तर, चिन्ता नलिनु होस्, इलामको एकै ठाउँबाट अनेक प्रकारका अचारका स्वाद चाख्न पाइन्छ । चाख्न मात्र होइन किन्न पनि पाइन्छ । अचार किन्दा स्वस्थकर/अस्वस्थकर भनेर डराउनु पनि पर्दैन । स्वस्थकर अनि स्वादिष्ट, एकपटक चाखे पनि खाउखाउ लाग्ने, खाइरहुँ लाग्ने । यसको बजार हो, इलाम नगरपालिका–७ स्थित नमूना कलेक्सन अचार पसल ।

यो पसल मात्र होइन, अनेक किसिमका अचार यही बनिन्छ । अर्थात अचारको उद्योग नै यही छ । यसका उद्यमी हुन्, चूडामणि रिजाल र सारदा बाँस्कोटा (रिजाल), जोइपोइ । रिजाल दम्पतीको पसल नयाँ किसिमको होइन, नयाँ तरिकाले गरिएको हो । सामान्य अचार जहाँ पनि पाइन्छ, तर मिश्रित अचारले मन तान्छ, जिब्रो रसाउँछ । पसलमै भेटिएका चूडामणिले भन्नुभयो, “नयाँ भेराइटिजको बनाएको हो । धेरै थोक मिक्स गरेर बनाउँछौँ ।” उहाँले थप्नुभयो, “धेरै दुःख गछौँ तर, विकेकै छ ।”

अचारका पनि विभिन्न प्रकारका छन् । अरू त अरू । अकबरेकै पनि भिन्नभिन्न प्रकार । भिन्नभिन्न प्रकारको विभिन्न स्वाद । कुनै नुनमा हालेको, कुनै बाक्लो लेदोमा राखेको । कुनै मसला मिसाएको, कुनै तेलमा राखेको । यति मात्र कहाँ हो र । अचारभित्रै स्वादिष्ट जलपाइ, मललिडो, टिम्बुर (बोके/सिल), फिलुङ्गो सबै मिसाइएको पाइन्छ ।

गाउँघरमा फल्ने तर प्रयोग नहुने मेलदेखि फर्सीको बियाको अचार पाइन्छ यहाँ । यी सबै अचार बनाउन रिजाल दम्पती टाढा गएका होइनन् । घरमै सिके, घरमै बनाए । यसै सेरोफेरोमा चार वर्षअघि उद्योग खोले । नमूना कलेक्सन अचार उद्योग । शुरुमै केही केही भेराइटिज मात्र बनाइने अचार विस्तारै बढाउँदै लगियो । एक किसिमले गाउँको नगन्य खाद्यान्न सदुपयोगका लागि अचार बनाइएको हो । नयाँ स्वाद दिनका लागि रिजाल परिवारले धेरै थोक मिसाएर अचार बनाएका हुन् ।

औषधिमा प्रयोग हुने जडीबुटीलाई विशेष महत्व दिइन्छ । रिजालले भनेझैँ पसलमा लप्सी, कागती, किबीमा धेरै चीज मिसाएर नयाँ स्वादका अचार बनाइन्छ । चूडामणिले केही समयअघिसम्म कपडाको पसल गर्नुभयो । कपडाबाट घाटा थिएन । छोरालाई ती पसल चलाउन दिएर उहाँले अचारको पसल थाल्नुभएको हो । उद्योगमात्रै हुँदा खासै अचारको प्रवद्र्धन नहुने देखेपछि पसल खोलिएको हो ।

स्थानीय परिकारको प्रवद्र्धनमा लागेको दम्पती

इलामको अकबरे धेरैतिर चर्चित छ । अदुवा त्यस्तै । तर, अहिले पनि बोराका बोरा भारत बेच्दा नेपालमा बजार पाएको छैन । केही हिस्सा नेपालमा खपत हुन्छ तर, यसको बजार भारत हो । रिजाल दम्पतीले यही विषयलाई नजिकबाट बुझेर अचार बनाउन थालेका हुन् । कृषिजन्य उत्पादनको स्थानीयस्तरमा प्रवद्र्धन गर्नपर्छ भन्ने सोच छ उहाँहरूमा । धेरै चीज सम्मिश्रण गरेर अचार बनाउन गाह्रो छ तर, गाह्रो नमानी काम गर्नुपर्ने हुन्छ ।

दैनिक परिवारकै खटाइ हुन्छ । व्यापारभन्दा उद्योगको काम असहज छ । उद्योगमा आएको वस्तुलाई मिलाएर मिश्रित गर्नुपर्छ । यसको बजार भने स्थानीयस्तर नै हो । इलाम बजार, फिक्कल अनि झापाका केही बजारमा यहाँको अचार पुग्छ । आफ्नै सामग्री चिनाउने काममा उहाँहरू लाग्नुभएको हो । चूडामणिले भन्नुभयो, “हामी खेर जाने वस्तुलाई प्रयोग गरेर नयाँ टेष्ट दिन खोजेका हौं ।” विभिन्न सामग्री मिलाएर बनाएको अचारको दाममा खासै महँगो राखिएको छैन । लागत मूल्यभन्दा केही माथिकै दरमा दिइन्छ । उहाँका अनुसार पसलमा रु ३५ देखि एक हजारसम्मका अचार पाइन्छ । लसुनको अचार ४०० ग्रामलाई रु ३८० पर्छ । यस्तै टिमुरको ४०० ग्रामकै अचार रु ४४० पर्छ ।

चियासहित छुर्पीको प्रचार

पसलमा अचार मात्र होइन, चिया पनि पाइन्छ । चिया पनि विभिन्न प्रकारका पाइन्छ । ‘व्लाक टी’, ‘गोल्डेन टी’,‘पल ग्रीन’, ‘प्रिमियम ग्रीन’, ‘ब्रोकन टी’लगायत चिया यहाँ पाइन्छ । कुन किसिमको चिया हो, प्याकेटबाट चिनिन्छ । ‘ब्लाक टी’ कालो प्याकेटमा, ‘ग्रीन टी’ हरियो प्याकेटमा । छुर्पी पनि प्याकिङ गरेर बेचिन्छ । कमला उद्यमी मात्र होइन, अचारको तालीम सहजकर्ता पनि हो ।

इलामका विभिन्न क्षेत्रमा अचारको तालीमका लागि कमला जानु हुन्छ । परिवारबाहेक दुई व्यक्तिलाई रोजगारी दिइएको छ । भरिसक्के आफ्नो काम आफँै गर्ने, नसक्दा मात्र कामदार लगाउने उद्देश्य रहेको कमलाले बताउनुभयो । लुगा पसल र अचार पसलकै आम्दानीले इलाम सदरमुकाममा घर बनाएका छन् । अनि अन्तुमा रिर्सोट बन्ने क्रममा छ । चुडामणिले आफ्नो कामबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । विगतका कामबाट सिकेर नै नयाँ काममा लागेको उहाँको भनाइ छ ।

इलाम सदरमुकाममा मात्र होइन, फिक्कल, मङ्गलबारेमा समेत अचारको पसल खोल्न सक्दा आम्दानी हुने चूडामणिको भनाइ छ । आम्दानी मात्र नभई यस्ता वस्तुको प्रवद्र्धन हुने उहाँको बुझाइ छ । यस्ता व्यवसाय र उद्यम गर्न बढी जोखिम मान्नुपर्ने तर जोखिमअनुसारको फाइदा पुग्ने उहाँको भनाइ छ । यो उद्योग दुई वर्षअघि अकबरे स्टल भनेर भृकुटीमण्डपमा पनि उत्कृष्ट भएको थियो । आउँदा दिनमा उद्यमलाई अझै व्यावसायिक बनाउने चूडामणिको भनाइ छ । इलाममा यस्ता सामग्री अन्त्यतै विक्ने भएकाले पसल विस्तार गर्दा घाटा नहुने उहाँले बताउनुभयो । सरकारी क्षेत्रबाट प्रवद्र्धनका कार्यक्रम भए अझै बजार बढ्ने अनुमान छ । यसबारे सचेत गराएर स्थानीय वस्तुको प्रवद्र्धन गर्न सके अधिकतम मूल्यमा बेच्न सकिने उहाँले बताउनुभयो ।

सम्भावना देखाउने रिजाल परिवार

पसल हेर्दा लाग्छ, त्यहाँ धेरै थोक छैन तर, पृथक वस्तु छ । जुन किन्नका लागि ग्राहकको भीड लाग्छ । अचारका स्वादका लागि यो पसल सबैथोक हो । यसबाट नयाँ तरिकाले काम गरेमा आकर्षक हुन सक्ने देखिन्छ । गाउँघरमै पाइने अनि खासै प्रयोग हुने सामग्रीबाटै बनिएका सामग्री प्रयोग गर्न जान्दाको परिणाम हो, यो । जिल्लाका अन्य क्षेत्रमा पनि स्थानीय वस्तुलाई प्रवद्र्धन गर्न पसल र उद्योग खोल्ने सफल भइन्छ भन्ने बुझिन्छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका