नेपाली खोज
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

–समुन्द्रा घिमिरे

काठमाडौँ, २० पुसः भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो ।

प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ । यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि ७० मा कारोबार भइरहेको थियो । यसैगरी पुस १० गते प्रतिकिलो रु ७० देखि ८० सम्म कारोबार भएको थियो ।

कालीमाटीको तथ्याङ्कअनुसार प्रतिबन्धमा समेत विभिन्न नाका हुँदै पर्याप्त मात्रामा प्याज आयात भएको पाइएको छ । प्रतिबन्धको शुरुआती दिनमा प्याज आयातमा केही कमी आए पनि पछिल्ला दिनहरुमा पर्याप्त मात्रामा आयात भएको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत असोज महिनामा मात्र ७७६ मेट्रिक टन प्याज आयात भएको थियो । भदौको अन्तिम साता प्रतिबन्ध लगाए पनि असोजमा उल्लेख्य मात्रामा प्याज भित्रिएको तथ्याँङ्क छ ।

यसैगरी गत कात्तिकमा एक हजार २९८ टन र मङ्सिरमा सबैभन्दा धेरै एक हजार ६९० टन प्याज भित्रिएको हो । यसैगरी पुस १ देखि १९ गतेसम्म एक हजार २५९ टन प्याज कालीमाटी तरकारी बजारमा भित्रिएको छ । जसमा एक हजार १७७ टन प्याज भारतबाट, ३० टन प्याज चीन तथा बाँकी ५२ टन नेपाली प्याज भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार प्रतिबन्धको शुरुआती दिनहरुमा केही व्यापारीले चीनबाट प्याज आयात गरेपछि पछिल्ला दिनमा भारतबाट नै आयात भइरहेको थियो । पर्याप्त मात्रामा भारतबाट प्याज आयात भएपछि पछिल्लो समय यसको मूल्य विस्तारै घट्न थालेको छ । हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेका छन् भने बाँकी चीन र नेपालमा नै उत्पादित प्याज प्रयोग हुने गरेको छ ।

३० हजार सहकारी

देशभर ३० हजार सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । सहकारी विभागले चार महिना लगाएर गरेको अध्ययनअनुसार देशभर २९ हजार ८८६ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको हो । विभागले स्थानीय सरकारसँगको सहकार्यमा गत साउनदेखि कात्तिकसम्म सहकारीको तथ्याङ्क सङ्कलन गरेको थियो । हाल सञ्चालित सहकारीमध्ये सङ्घीय सरकारअन्तर्गत १२५, प्रदेश सरकारअन्तर्गत ६ हजार दुई र स्थानीय सरकारअन्तर्गत सबैभन्दा धेरै २३ हजार ७५९ सहकारी संस्था रहेका विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले सङ्कलन गरेको तथ्याङ्कमध्ये हाल देशभर २९ हजार ८८६ प्रारम्भिक सहकारी संस्था, २० विषयगत केन्द्रीय सङ्घ, एक राष्ट्रिय सहकारी बैंक, एक राष्ट्रिय सहकारी महासङ्घ, ७० जिल्ला सहकारी सङ्घ र २४१ विषयगत जिल्ला सहकारी सङ्घ क्रियाशील छन् । उक्त सहकारी संस्थाले करीब ८८ हजार ३०९ जनालाई प्रत्यक्ष रोजगारी दिएको, ७३ लाख सात हजार ४६२ जना आबद्ध भएको र रु ९४ अर्ब १० करोड ५० लाख शेयर पूँजी रहेको पाइएको छ ।

सङ्घीयता कार्यान्वयनमा आएसँगै तीन तहमा अधिकार बाँडफाँड हुँदा सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीनै तहका सरकारलाई हस्तान्तरण गरिएको छ । उहाँका अनुसार तीनै तहमा हस्तान्तरण गरेपछि पहिलोपटक विभागले देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको तथ्याङ्क सङ्कलन गरिएको हो ।

कुन प्रदेशमा कति

विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा चार हजार ७३७ वटा सहकारी संस्था रहेका छन् । उक्त सहकारीमा नौ लाख ३५ हजार ७०० सदस्य रहेको, रु आठ अर्ब २० करोड दुई लाख ८७ हजार ३७२ शेयर सदस्य रहेको र २० हजार ६८५ जनाले प्रत्यक्ष रोजगारीे पाइएको छ ।

यसैगरी प्रदेश नं २ मा चार हजार १५३ सहकारी संस्था रहेको पाइएको छ । जसमा पाँच लाख ५५ हजार सदस्य, रु दुई अर्ब ३६ करोड शेयर पूँजी र १० हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएका छन् ।

वाग्मती प्रदेशमा १० हजार ४१८ सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । उक्त सहकारीमा २७ लाख १७ हजारभन्दा बढी सदस्य, रु ५१ अर्ब ४० करोड बराबरको शेयर पूँजी र ३३ हजार ८०० भन्दा बढी प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा दुई हजार ६७१ सहकारी संस्था सञ्चालनमा रहेको छ भने ११ लाख १६ हजारभन्दा बढी सदस्य रहेको पाइएको छ । ती सहकारीमा रु ८६ अर्ब सात करोड शेयर लगानी र सात लाखभन्दा बढीले रोजगारी पाएको तथ्याँङ्क छ ।

यसैगरी लुम्बिनी प्रदेशमा तीन हजार ७५५ सहकारी संस्था सञ्चालनमा छन् भने त्यसमा आठ लाख ९८ हजार सदस्य छन् । ती सहकारीमा रु पाँच अर्ब ८२ करोड शेयर लगानी र सात हजारभन्दा बढी रोजगारी पाएका छन् ।

विभागको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा एक हजार ९६७ सहकारी संस्था रहेका छन् । चार लाख चार हजार सदस्य रहेको ती सहकारीमा एक अर्ब ८० करोड शेयर पूँजी र चार हजार ५०० भन्दा बढी प्रत्यक्ष रोजगारीमा आबद्ध छन् । सुदूरपश्चिम प्रदेशमा रहेका दुई हजार ६० सहकारीमा पाँच लाख ४२ हजार सदस्य छन् । रु दुई अर्ब एक करोड शेयर पूँजी रहेको ती सहकारीमा दुई हजार ८०० भन्दा बढीले रोजगारी पाएका छन् ।

यसअघि देशभर ३४ हजार ८३७ सहकारी संस्था रहेकामा केही निष्क्रिय भएको र केही एकीकरण हुँदा तथ्याङ्कमा कमी आएको पाइएको छ । विभागले शून्य लागतमा ७५३ स्थानीय तहले दिएको तथ्याङ्कका आधारमा विभागले सो विवरण तयार पारेको बताइएको छ ।

विभागले तयार पारेको तथ्याङ्कअनुसार सहकारीमा सदस्य सङ्ख्या, शेयर पूँजी, बचत सङ्कलन, ऋण लगानी तथा रोजगारी सिर्जनालगायत सूचकमा वृद्धि भएको पाइएको विभागका रजिष्ट्रार डा पाण्डेले जानकारी दिनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका