नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

व्यावसायिक कागती खेती गर्दै दङ्गाली किसान

देउखुरी, १७ पुस: कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोप्नुभएको छ ।

दुई वर्ष पहिले रोपेका ती बिरुवाले यस वर्षदेखि उत्पादन दिन शुरु गरेका छन् । यस वर्ष १५ क्विन्टल कागती बिक्री गरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित कागती घोराही, तुलसीपुरको बजारसँगै काठमाडौँसम्म पुगेको छ । प्रतिकिलो रु १२० मा बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । कागती खेतीलाई विस्तार गर्ने र व्यवसायलाई निरन्तरता दिने सोच भएको खड्काले बताउनुभयो ।

लमही नगरपालिका–८ गोजेना निवासी राजकुमार खड्काले राष्ट्रिय वाणिज्य बैंकको जागिरबाट अवकाशप्राप्त भएपछि व्यावसायिकरूपमा कागती खेती गर्नुभएको छ । जागिरको सिलसिलामा विभिन्न ठाउँमा जाने अवसर मिलेकाले त्यहाँका किसानले गरेको व्यावसायिक कृषिले आकर्षण गरेपछि एक बिघा आफ्नो जमिनमा विभिन्न जातका १०० बिरुवा कागती लगाएको र पछि त्यसलाई विस्तार गरी ४०० बिरुवा पु¥याएको खड्काले बताउनुभयो ।

राज बहुउद्देश्य कृषि फार्म दर्ता गरेर व्यावसायिक कागती खेतीमा लागेको खड्का बताउनुहुन्छ । उहाँले सुन कागती –१, सुन कागती–२, कलमी र लोकल जातका बिरुवा रोप्नुभएको छ । कलमीले रोपेको दोस्रो वर्षमा नै फल दिन थालेको छ । उहाँलाई गत वर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख सहयोग गरेको थियो ।

यो रकमबाट कागती बारीलाई व्यवस्थित गरिरहेको उहाँले बताउनुभयो । लमही नगरपालिका–९ मा बगारबाबा कृषि फार्ममा कागतीका बिरुवा हुर्किरहेका छन् । छ जनाको लगानीमा चार बिघा जमिन भाडामा लिएर वार्षिक रु एक लाख २० हजार भाडा दिने गरी फार्म सञ्चालन गरिएको सदस्य गोविन्द रेग्मीले जानकारी दिनुभयो । फार्ममा सुनकागती २५०, मङ्गोलियन १००, रैथाने १०० गरी जम्मा ४५० बिरुवा रोपिएको छ ।

कागतीका बिरुवा रोपेको खाली ठाउँमा अदुवा, बेसार खेती गरेर खाली जमिनको सदुपयोग गरी अदुवा र बेसारबाट समेत आम्दानी हुने गरेको छ । कागती हेरचाहका लागि चार स्थानीयवासीलाई रोजगारी दिएको रेग्मीले बताउनुभयो । “कागतीमा दाङलाई आत्मनिर्भर बनाउने सोच राखेका छौँ, कागतीलाई आवश्यक पर्ने हावापानी दाङमा भएकाले यसको खेती गरेका हौँ”, उहाँले भन्नुभयो ।

स्वास्थ्यकर्मीका अनुसार मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फस्फोरस र पोटासियमजस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिन पाइन्छ । औषधीय गुण भएकाले कागतीले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसले मलेरिया, डायरिया, निमोनियाजस्ता रोगको सङ्क्रमण हुन दिँदैन ।

दाङको हावापानीमा कागती खेती आकर्षणको विषय बनेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । सरकारले किसानलाइ कृषि व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न अनुदानका कार्यक्रममा गत वर्ष कागती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच कृषि फार्मलाई अनुदान दिएको उहाँले बताउनुभयो । राप्ती गाउँपालिकाको अतुल कृषि फार्म, रावत कृषि फार्म तुलसीपुर, बगरबाबा कृषि फार्म लमही, राजवहु कृषि फार्म लमही र दङ्गाली फलफूल कृषि फार्म अनुदान पाएका हुन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका