–जमुनावर्षा शर्मा
पोखरा १३, पुसः कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो ।
स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भन्नुभयो, “कोभिड– १९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सकर्ततासहित विधिवत पूजा गरेर खुला गरेका हौँ”, उहाँले जापानको निप्पोजान मेहोजिल जापानी परम्पराअनुसार जापानी भिक्षुहरुबाट, ठेरवादी परम्पराअनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरुबाट पूजा सम्पन्न गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्तुपा दर्शनार्थीको सुस्वास्थ निरोगिता र मंगलको कामना गरेर पूजा गरिएको हो । स्तूपा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहने छ भने स्तूपामा आउने पर्यटकले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ । पोखरा महानगरपालिका–२२ स्थित अनदुडाँडामा रहेको सो स्तूपा पोखरादेखि करीब पाँच किलोमिटर दूरीमा रहेको छ भने करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मिकस्थलको रुपमा मानिने स्तुपा २०३० सालमा ३५ फिटसम्म निर्माण गरिए पनि पञ्चायतकालमा भत्काएर पुनः प्रजातन्त्रको पुनवर्हाली भएपछि निर्माण अनुमति पाएको थियो । पञ्चायत सरकारले भिक्षु र जग्गादातालाई जेल हालेको थियो । सो जग्गा तत्कालीन रक्षामन्त्री मीनबहादुर गुरुङ र कृष्णबहादुर गुरुङले जग्गा उपलब्ध गराउनु भएको थियो ।
पुनः २०४९ सालमा जापानको निप्पोजान मेहोजिल भन्ने जापानी संस्था र पोखरामा रहेको धर्मशिला बुद्धविहारकोे सक्रियतामा निर्माण कार्य थालेर २०५६ सालमा सम्पन्न गरिएको थियो । बुद्ध जन्मेको देशमा बुद्धको मन्दिर नै भत्काइयो भनेर भिक्षुहरुले सो घटनालाई धार्मिक मारको सङ्ज्ञा दिएका आलोचना गरेका थिए ।
तत्पश्चात् विश्वका ठूला–ठूला भिक्षुले बुद्धको आठ अस्थी धातु ल्याएर सो स्थानमा विधिवत् निधान गरी धार्मिक विजयको कामना गरेका थिए । एक सय १५ फिट अग्लो स्तूपाको ३४४ फिट गोलाई भने स्तूपाको गजुरमा चाँदीको गजुरमा सुनको जलप लगाइएको छ ।
स्तूपामा दर्शनार्थीले एवं पर्यटकलाई निःशुल्क प्रवेश दिइन्छ । स्तूपा मर्मतसम्भार एवं नियमित आम्दानी नभएकाले स्थानीय सरकारले पर्यटकीय एवं धार्मिक गन्तव्यका लागि संरक्षण, सम्वद्र्धनका लागि बजेट छुट्टाउनुपर्ने बुद्धाचार्यको माग छ ।
स्तूपामा परिसरमा १० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका स्थानीय राजु क्षेत्रीले स्तूपा बन्द रहेको समयमा आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो । “यो बुद्ध धर्मावलम्बी र अन्य पर्यटकको लागि निकै आर्कषक स्थल हो, बन्दाबन्दीको समयमा केही आन्तरिक पर्यटक आउँथे, बन्द भएका कारण बाहिरबाट नै आसपासको दृश्यावलोकन गरेर फर्कने गरेका थिए, ।
अब स्तूपा खुला भएको पर्यटकले स्तूपामै आएर दर्शन गर्न र सुन्दर दृश्यावलोकन गर्न सक्नेछन् ।” उहाँले अहिले पर्यटकको आगमन सुस्ताएको समयमा स्थानीय सरकारले पर्यटकीय गन्तव्यका बाटोघाटो र अन्य पूर्वाधार विकासमा जोड दिन सके पर्यटक आउन समयका लागि सहज हुने र सकारात्मक सन्देश जाने बताउनुभयो ।
स्तूपाबाट फेवाताल, पोखरा बजार र आसपासका मनमोहक दृश्यको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखराका धार्मिक एवं पर्यटकीय गन्तव्य खुल्दै गएको बताउनुभयो । “अब पोखराका प्रायः धार्मिक एवं पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका छन् । अब मुक्तिनाथ मन्दिर पनि खुला भयो भने यस क्षेत्रमा पर्यटन चलायमान हुनेछ ।”
कोभिड–१९ सँगसँगै स्वास्थ्य सतर्कता अपनाएर पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उहाँले पोखरा आसापासका पर्यटकीय गन्तव्य र विभिन्न धार्मिक मठमन्दिर खुला गर्नका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहेको जानकारी दिनुभयो । (रासस)