नेपाली खोज
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • मन्त्रिपरिषद् विस्तारः कोही नयाँ कोही पुराना

मन्त्रिपरिषद् विस्तारः कोही नयाँ कोही पुराना

मन्त्रिपरिषद् विस्तारः कोही नयाँ कोही पुराना

काठमाडौँ, ११ पुसः प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विस्तार गर्नुभएको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिनुभएको छ । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हाल्नुभएको थियो । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गर्नुभएको थियो ।

कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित हुनुभएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।

शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसक्नुभएका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आउनुभएको हो । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गर्नुभएका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिनुहुन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बन्नुभएको छ । यसअघि पनि उहाँले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद हुनुहुन्थ्यो । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित हुनुभएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी हुनु भएको थियो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो । त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लाग्नुभएका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिनुभएको छ । विसं २०६४ को संविधानसभा सदस्य रहनुभएका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित हुनुभएको थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका