नेपाली खोज
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • एकै गाउँबाट तीन करोडको सुन्तला बिक्री

एकै गाउँबाट तीन करोडको सुन्तला बिक्री

एकै गाउँबाट तीन करोडको सुन्तला बिक्री

दमौली, ९ पुसः तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको मौसममा रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री भएको हो । सुन्तला बिक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गर्नुभएको छ । स्थानीय भीम रानाले यस वर्ष सुन्तला बिक्रीबाट उक्त आम्दानी भएको बताउनुभयो ।

“सुन्तलाखेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो, “सुन्तला बिक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।” रानाले एउटा बगैँचाबाट रु १५ लाख र अर्को बगैँचाबाट रु सात लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । “सुन्तला बिक्रीका लागि समस्या छैन”, उहाँले भन्नुभयो ।

स्थानीयवासी कर्णसिं गुरुङले रु १८ लाख, नवराज गुरुङले रु १५ लाख, रामबहादुर रानाले रु १२ लाख बराबरको सुन्तला बिक्री गर्नुभएको छ । “सुन्तला बिक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिकरुपमा सुन्तलाखेतीमा आबद्ध छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस ठाउँबाट मात्रै करीब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।

देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हरेक घरमा सुन्तला छ, कति बिक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।”

कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार ५०० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिकटन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

“उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ”, उहाँले भन्नुभयो, “१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।” तिवारीका अनुसार यस वर्ष करीब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार ५०० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ मा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नं १३ बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिकरुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

‘हर्न’ बजाउनेलाई कारवाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गरेको छ । गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडि बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “यो बीचमा नो हर्नः नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायाँै, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौं”, रानाभाटले भन्नुभयो ।

ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सक्रियतामा दमौली बजारलाई नो हर्न : नो ओभरटेक घोषणा गरी यसबारे सङ्केत सामग्रीसमेत राखिएको थियो । दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न : नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैंकले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ ।

अनावश्यकरुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताउनुभयो । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यकरुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ”, उहाँले भन्नुभयो ।

दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजनाअन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुआत गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पु¥याउनुभएको छ”, रानाभाटले भन्नुभयो, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”

प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा १८ वटा जेब्राक्रस बनाउने तयारी पनि गरेको छ । जथाभावीरुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताउनुभयो । “बजारको मुख्य मुख्य ठाउँ पहिचान गरी जेब्राक्रस बनाउँदैछौँ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोकलगायतका ठाउँमा जेब्राक्रस बनाइनेछ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । “प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्याँै भने त्यसले सुधार हुँदैन, सबैपक्षको सहयोग खाँचो छ”, उहाँले भन्नुभयो, “दमौली बजार एकाइ विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा एकाइकै सक्रियतामा सिसी क्यामरा जडानको काम शुरु भएको थियो ।

चेपाङ बालबालिकालाई कपडा

इनरह्वील क्लब अफ दमौलीले व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय माध्यमिक विद्यालयका चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । क्लबले आज एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत ३० चेपाङ विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।

आर्थिक अवस्था विपन्न भएका छात्रछात्रालाई चिसो मौसममा विद्यालय आउन सहज पुगोस् भन्ने उद्देश्यका साथ स्वीटर वितरण गरिएको क्लबकी पूर्वअध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

न्यानो कपडा वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले चेपाङ बालबालिकाको उत्थानका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सोही क्रममा श्रेष्ठले व्यक्तिगततर्फबाट विद्यार्थीलाई ३० थान टोपी सहयोग गर्नुभएको थियो ।

सोही विद्यालयमा अध्ययनरत बालबालिकाका लागि रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष रजिनलाल श्रेष्ठले स्टेशनरी सामग्री सहयोग गर्नुभएको छ । क्लबकी अध्यक्ष आशा क्षेत्रीले क्लबको वार्षिक कार्यक्रमअन्तर्गत बालबालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । ‘सेवा नै धर्म हो’ भन्ने भावनाका साथ स्थापित संस्थाले बालबालिकाको शैक्षिक विकासमा हरेक वर्ष सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

न्यानो पोशाकको अभावमा कठ्याङ्गिँदै विद्यालय आउन बाध्य भएका बालबालिकालाई क्लबले गरेको सहयोगले राहत मिलेको विद्यालयका प्रधानाध्यापक रोशनी थापाले बताउनुभयो । “न्यानो कपडा नहुँदा विद्यार्थी चिसो मौसममा कहिलेकाहीँ विद्यालय नआउने समस्या छ”, उहाँले भन्नुभयो, “न्यानो कपडा सहयोगले उनीहरुको पठनपाठन नियमित गराउन सहयोग पुग्छ ।”

छात्रालाई सेनेटरी प्याड

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका छात्रालाई पठनपाठनमा नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएको छ । छात्रालाई नियमित क्याम्पस आउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित नगरपालिकाले क्याम्पसलाई दुई हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको हो । क्याम्पसमा करीब दुई हजार छात्रा अध्ययनरत छन् । त्यसमध्ये ९०५ भन्दाबढी छात्रा ग्रामीण भेगका छन् । उनीहरुमध्ये धेरै जना महिनावारी भएका बेला तीनदेखि चारदिनसम्म क्याम्पसमा अनुपस्थित हुने गरेका छन् ।

समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् । कूल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाका क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ । क्याम्पसले वार्षिकरुपमा रु २० लाख गरीब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिवापत वितरण गर्ने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन (क्युएए) को मान्यता प्राप्त गरिसकेको छ । विसं २०४३ मा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुनबेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।

क्याम्पस सञ्चालनको शुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लबकै एक लाख डलर सहयोगमा विज्ञान प्रयोगशाला भवन निर्माणाधीन अवस्थामा रहेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका