नेपाली खोज
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • तीन दशकपछि घन्किएको दोहोरी, जसले सम्झायो विगतका सारथि

तीन दशकपछि घन्किएको दोहोरी, जसले सम्झायो विगतका सारथि

तीन दशकपछि घन्किएको दोहोरी, जसले सम्झायो विगतका सारथि

– किरण पौड्याल

इलाम, ८ पुस: न सिर्जना मर्छ, न त सिर्जनशील व्यक्तिको नाम मर्छ । भौतिक स्वरूप गुम्ला तर प्रतिभा रहिरहन्छ । यति मात्र होइन, सीप सिकेपछि सधैँ काम लाग्छ । लामो समय प्रयोगमा नल्याउँदा केही धुमिल होला तर प्रयोगपछि जस्ताको तस्तै । यो प्रसङ्ग सर्जक देवी गौतमसँग मिल्न जान्छ ।

एक साताअघि गौतमलाई दोहोरी गाउन अनुरोध गरियो । सत्तरीको छेउछाउ पुग्नुभएका गौतमले दोहोरी नगाएको तीन दशक भएछ । गाउँ छाडेको लामो समय भयो, न गाउँमा यस्तो राम्रो अवसर । गौतम दोधारमा । सहमति जनाउनुपूर्व उहाँले सोध्नुभयो, “कोसँग गाउने ?” उत्तर आयो–कल्पना दाहालसँग । अबचाहिँ मुटुमा ढ्याङ्ग्रो बज्यो । कल्पना मामुली दोहोरी गायिका होइनन् ।

कल्पनासँग दोहोरी खेल्न चानचुने आँटले पुग्दैनथ्यो । सधैँ दोहोरी साँझमा देखिने र जस्तो प्रश्न उस्तै उत्तर फर्काउने कल्पनासँग टक्कर गर्न सहज थिएन । तैपनि गौतमले हुन्न भन्न पाउनु भएन । बाध्यात्मक सहमतिपछि दोहोरी खेल्ने दिन आयो । तामझामका साथ दोहोरी शुरु भयो । दोहोरीका झ्याली/झ्याम्टा, मादल बजे तर गौतमको मनको ढ्याङ्ग्रो बज्यो । दोहोरीको शुरुमा माया/जालभन्दा बाहिरको कुराले दोहोरी खेल्ने निधो गर्नुभयो गौतमले । तर प्रस्तोताले माया/जालमै दोहोरी खेल्न अड्डी कसे । लौ पर्यो फसाद !

आफूभन्दा तीन गुणा कम उमेरकी केटीसँग दोहोरी खेल्नुपर्ने । त्यसमा पनि माया/जालका बारेमा । समस्या यत्तिमै सीमित रहेन । श्रीमती, साली र आफ्ना अग्रज पनि साक्षी राखेर । त्यतिबेला गौतमलाई के भएन होला । घरी तिर्खा लागेझैँ भयो, घरी गलेझैँ भयो शरीर । ‘बाह्र हात नाघेर भित्तामा हार्नु’ पनि भएको थिएन । एउटा जीवनको परीक्षा शुरु भएझैँ भयो ।

तैपनि हिम्मत कसेर गौतमले दोहोरी शुरु गर्नुभयो । साथीभाइको सरसहयोगले अपेक्षाभन्दा राम्रै उत्तर फर्काउँदै जानुभयो । सिर्जना हो नि कसरी मथ्र्यो र । गौतमलाई विस्मृत भएका दोहोरीका भाका आँखामा आउन थाले । तिनै भाकालाई उत्तर बनाएर उहाँले फ्याँक्न थाल्नुभयो । दोहोरी चल्दैथियो कल्पनाले श्रीमतीकै प्रसङ्ग निकालेर प्रश्न गरिन् :

कल्पना : ठानेकी थेँ बोलीले टार्छौ
बूढी छेऊमा राखेर बात मार्छौ

अब यतिपछि गौतम रक्षात्मक हुनुपर्ने भयो । प्रश्न जटिल थियो । तर हिम्मत कसेर गौतमले उत्तर फर्काउनुभयो–

देवी : तिम्रो कुरा हामीलाई छुँदैन
बूढी राख्दा केही पनि हुँदैन

जेनतेन उत्तर आयो । दोहोरीभर यस्ता प्रश्न आइरहे । गौतमका उमेर, दाह्री, दाँतका बारेमा अनेकन प्रश्न सोधिएको थियो । तर पनि अभ्यस्त उहाँले जस्ताको तस्तै उत्तर फर्काउनुभयो । गौतमले दोहोरी खेल्न डराउनुको कारणचाहिँ लामो समयको दोहोरीतर्फको विश्रामले हो ।

युवावस्थामा दोहोरीकै लागि गौतम साथी/सङ्गीसहित ठाउँठाउँ पुग्नुहुन्थ्यो । पछिल्लो समय उमेरसँगै बढेको बिर्सिने बानीले होला फर्काउन गाह्रो हुन्छ कि जस्तो लाग्थ्यो तर भएन । कार्यक्रमपछि कल्पनाले गौतमको सराहना गरिन् । यो कार्यक्रमले गौतमको दोहोरी खेल्ने शक्ति मात्र बढाएन । शुभचिन्तकसमेत थपेको छ ।

स्कूल लाग्दा पढाइमा, छुट्टीमा चाहिँ दोहोरी

गौतमको जीवन दोहोरी र लोकगीतमा मात्र सीमित रहेन । लामो समय शिक्षक भएर विद्यालय र घर गर्दैमा बित्यो । दोहोरीप्रतिको लगाव सानैदेखि नै थियो तर ऊ बेला पढेको मान्छे कम हुने । जागिर नखाई नहुने । पारिवारिक स्थितिले पनि गौतमले जागिर नखाई धर पाउनुभएन ।

विसं २०११ मा जन्मिनुभएका गौतमले २०३५ देखि २०५९ सम्म त जागिरमै रहनुपर्यो । जागिरमा रहँदा पनि लोकभाका र दोहोरीसँग चुर्लुम्म डुब्नुभएका उहाँलाई कसले छेकेर राख्नसक्थ्यो र । विद्यालय सञ्चालन हुञ्जेल पढायो । छुट्टी भएपछि गायकीमा रम्यो । गौतमले जीवनकालमा चारवटा विद्यालयमा अध्यापन गराउनुभयो । अनि केही समय शिक्षा कार्यालयमा । यो समयमा गौतमले लोकदोहोरीलाई चटक्कै छाड्न सक्नुभएन ।

“विद्यालयमा विद्यार्थी पढाउँदै कतिपय कुरा जान्दथेँ । तिनै कुरालाई लोकगीत बनाइहाल्थेँ”, गौतमले भन्नुभयो, “मेरा विद्यार्थी, शिक्षक र आफन्त मेरा गीतका प्रेरक हुन् । जस्तो देख्थेँ । त्यस्तै लेख्थेँ ।” हुन पनि हो गौतमका गीतमा शहरबजार, राजधानी, विलासिता कहीँ भेटिदैन । केवल भेटिन्छ त आफैँले खाइखेली गरेको आफ्नै जन्मघर र अनि आफ्नै गाउँ ।

मङ्गलबारे डाँडामा लै लै… बुधबारे, हाट लाग्ने
निष्ठुरीलाई माया नलाए, बैँसको पाप लाग्ने ।।
अन्तुडाँडामा झुल्के घाम, चियाबारीमा छायाँ
गजुरमुखी मेलामा घुम्दा बसिहाल्यो माया ।।

आफैँ लेखक, आफैँ सङ्गीतकार, अनि आफैँ गायक । विसं २०४५ तिर रेडियो नेपालमा रेकर्डिङ गरेको लोकगीत हो यो । गौतमको क्षमता दोहोरीजस्तै लोकगायकीमा पनि थियो भन्ने यो गीतबाट प्रष्ट हुन्छ । अहिलेको देउमाई नगरपालिकाको केन्द्र मङ्गलबारे । यहाँ मङ्गलबारे भनिए पनि बुधबार हाट लाग्छ । अनि उतापट्टि धाममा लाग्ने गजुरमुखी मेला र देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य अन्तुडाँडालाई आधारमा राखेर गाइएको गीत । गाउँघरको चित्रणसहित मायाका भाका फ्याँकेपछि सायदै सबैको मनमा बस्यो यो गीत । आफ्ना साथीभाइको उत्साह र दर्शक÷स्रोताका मायाले गौतमलाई झनै यसै क्षेत्रमा तान्यो । उहाँले लोकभाका नै कथेर दुई वटा एल्बम निकाल्नुभयो भने कति त अझै पाण्डुलिपिमै रहेका छन् ।

दोहोरीमा कोमल ओलीले ‘मच्छड’ बनाएपछि

लोकदोहोरी गौतमको मनमै बसेको थियो । कहीँकतै यो कार्यक्रम हुने बुझेपछि गौतमको मन पुगिहाल्थ्यो । मन मात्र होइन शरीर पनि । त्यतिबेला आउन, जान, खानका लागि प्रबन्ध हुँदैनथ्यो, तर गौतम केही साथीसङ्गी लिएर कार्यक्रमस्थलमा पुगिहाल्नुहुन्थ्यो ।

खेलकूद मन्त्रालयअन्तर्गत वर्षमा एकपटक दोहोरी प्रतियोगिता गराइन्थ्यो । त्यही पनि अञ्चलस्तरीय । अञ्चलस्तरीय जितेमा राष्ट्रियस्तरमा पुगिने । रहर त हो । गौतम पनि वर्षमा एकपटक प्रतियोगितामा पुग्नु नै हुन्थ्यो । तीन पटक त अञ्चलस्तरीय दोहारी जित्नु नै भयो । राष्ट्रियस्तरमा भने केही लागेन । जित्न त जितिएन दोस्रो पनि भइएन । तर पनि अहिले खुशी हुनुहन्छ गौतम । पुराना स्मरण केलाउँदा गौतमका दिमागमा कोमल ओलीसँग दोहोरी खेल्दाको प्रसङ्ग सधैँ आइहाल्छ । कुरा विसं २०४५ ताकाको हो । प्रतियोगिताकै लागि गौतम वीरगञ्ज पुग्नुभएको थियो । दोहोरी चल्दै थियो । गौतमले प्रश्न गर्नुभयो :

गौतम : तिमी फूल म परेँ भमरा
उम्की जाने कोसिसै नगर ।।
ओली : भमरा हैनौँ तिमी त वीरगञ्जको मच्छड
तिमीजस्तो बेइमानी हो र ।।
गौतम : मच्छरनीले, यो मच्छर कहाँ पाउली
औलो बोकी घर फिर्दा था.. पाउली ।।

गौतमको सानदार उत्तर थियो त्यो । अहिले पनि उहाँको कानमा घुमिरहन्छ, यो दोहोरी । दोहोरीकै लतले गौतमले स्वेच्छाले जागिर छाड्नुभयो । अनि शुरु भयो समाजसेवा । दशकभन्दा बढी गौतम नेपाल रेडक्रस सोसाइटी इलामको सभापति बन्नुभयो । अहिले गौतम पूर्णरूपमा लेखक बन्नुभएको छ । जीवनको उत्तराद्र्धमा केही गर्ने विचार छ गौतमको ।

“अझै केही एल्बम निकाल्ने तयारीमा छु”, गौतम भन्नुहुन्छ, “केही कविता पनि लेख्दैछु । गुम्दै गएको छन्द कविता लेख्ने तयारीमा छु ।” गौतमलाई लोप हुँदै गरेका विषयमा कलम चलाउन मज्जा लाग्छ । जागिरे जीवनमा रहँदैमा पनि लोकगीत गाउनुको अर्को कारण यो पनि हो । “लोकगीत÷भाका लोप हुनै लाग्यो । यसलाई बचाउन पनि हामी लाग्नुपर्छ भनेर यसैमा लागेँ ।”

हुन त लोकदोहोरीमा दुईतिर केटा र केटी बसाइन्छ । अनि एकले अर्कालाई प्रश्नमाथि प्रश्न र प्रश्नको उत्तर बर्साइन्छ । विशेषगरी दोहोरीमा माया÷प्रेमकै कुरा हुन्छ । प्रेम, विवाह, जीवन/मरणसम्मका विषय उठान गरिन्छ । यही विषयलाई कतिले वाहियात भनिदिन्छन् ।

केटा र केटी जिस्किने भनेर चित्रण गर्नेलाई गौतम दोहोरीको मर्म नबुझ्ने व्यक्तिको सङ्ज्ञा दिनुहुन्छ । उहाँका अनुसार दोहोरी सबै विधाभन्दा जटिल विधा हो । नलेखी र नरटी, जहाँको तहीँ, जस्ताको तस्तै, उत्तर फर्काउन सहज नहुने गौतमको भनाइ छ ।

यतिमात्र होइन, दोहोरीमा जीवन्त कथा समेटिएकाले अन्यथा बुझ्न नहुने उहाँको टिप्पणी छ । गौतमले आफ्ना छोरो र छोरीलाई पनि यही विधामा ल्याउन डोर्याउनुभएको छ । बाबुको कामको सराहना गर्दै पछिल्लो पुस्ताले पनि अँगालेकामा खुशी हुनुहुन्छ गौतम । केही गीत लेख्ने, गाउनेबाहेक खासै ठूलो धोको छैन गौतमको अब । उहाँ भरसक जिल्लाका सबै ठाउँमा लोकदोहोरी र लोकगीतका बारेमा जानकारी गराउने उद्देश्यमा हुनुहुन्छ । “म एक्लो मान्छेको केही लाग्दैन । साथीभाइले सहयोग गरे जिल्लाभर लोकगीतका बारेमा जानकारी गराउने छु ।” (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका