काठमाडौ । सरकारले सोमबारबाट कोरोना भाइरस परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना भाइरस पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।वासुदेव पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकाका कोरोना प्रभावति क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण सुरु गरिएको हो । डा. पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको छ । एन्टिजेनबाट २० र २५ मिनेटमै कोरोना परीक्षणको गरी रिपोर्ट आउने पाण्डेले बताए ।
‘एन्टिजेनमा पपिसिआर जस्तै विधि हो । घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ,’ पाण्डेले भने । संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागिएको हो ।
पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत मात्रै प्रभावकारी मानिन्छ ।