नेपाली खोज
सोमवार, माघ ५, २०७७

हालको खबर

  • होमपेज
  • डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि इलाम सोयाकका स्थानीवासी खुसी

डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि इलाम सोयाकका स्थानीवासी खुसी

  • Nirmala Karki
  • सोमवार, कार्तिक २४, २०७७
डिप बोरिङमार्फत घरघरमा पानी झरेपछि इलाम सोयाकका स्थानीवासी खुसी

मङ्गलबारे, २४ कात्तिक: वर्षौँदेखि पानी बोकेर खाने इलाम सोयाकका स्थानीयवासी घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नं ११ सोयाकमा बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीयवासी खुसी भएका हुन् ।

नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन गरी १०० भन्दा बढी घरपरिवारलाई पानी उपलब्ध गराएको हो । कति परिवार पानी नभएकै कारण सो स्थान छोडिसकेको भए पनि पानी पाएपछि सोही ठाउँमा फर्किन थालेका छन् । स्थानीय नरेन्द्रप्रसाद आचार्य पानी अभावकै कारण आफू जन्मेको थातथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सर्नुभएको थियो । गएको चैतबाट पानीको काम अगाडि बढेपछि उहाँले पुनः फर्किएर सोही ठाउँमा घर बनाउनुभएको छ । उहाँले मात्र होइन धेरैले सो ठाउँ छोडिसकेका थिए । पानी आउने खबर पाएका विस्थापितहरु सोही स्थानमा फर्किन थालेको उहाँले बताउनुभयो ।

अहिले नगरपालिकाले बोरिङ प्रणालीमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा स्थानीयवासी ढुक्क भएका छन् । सो क्षेत्रको खानेपानीको सङ्कट टार्न पहाडी क्षेत्रमा डिप बोरिङमार्फत समस्या समाधान गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । बर्सेनि पानीको मुहान सुक्न थालेसँगै स्थानीयवासीले गाउँ छाड्न थालेपछि नगरापालिकाले बोरिङ प्रणालीमार्फत स्थानीयवासीलाई पानी वितरण गरेको उहाँले बताउनुभयो ।

पानी अभावले थलिएका स्थानीयवासीले हाल आवश्यकतानुसार पानी पाउने भएपछि राहत महसुस गरेका छन् । स्थानीय पवित्रा मगरले यसअघि एक पटक ल्याएको पानी आठ दिनसम्म प्रयोग गर्नुपरेको बताउनुभयो । यो प्रविधि प्रयोग गरेर पानी निकालेपछि पानी अभावमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख बस्नेतको भनाइ छ ।

बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको वडाध्यक्ष रविन एक्तेनले बताउनुभयो । चौँसठ्ठी घर परिवारलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना हाल ८४ घर परिवारलाई वितरण गरिसकिएको छ । एक्तेनका अनुसार क्रमिकरूपमा घरधुरी अनुसार खानेपानीको लाइन विस्तार गर्दै लगिने छ ।

इलाम नगरपालिका र नेपाल सरकारको विशेष अनुदानमार्फत रु दुई करोड ४७ लाखको लागतमा सो आयोजना निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भुजेलले जानकारी दिनुभयो । आयोजनामा एक लाख लिटरको एउटा, ५० हजार र १० हजार लिटर क्षमताको एक÷एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको नगरपालिकाका इन्जीनियर दिपक गुरागाइँले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका