नेपाली खोज
मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • यस वर्षको तिहारमा भारतबाट फूल आयात नहुने

यस वर्षको तिहारमा भारतबाट फूल आयात नहुने

  • Nirmala Karki
  • आइतवार, कार्तिक १६, २०७७
यस वर्षको तिहारमा भारतबाट फूल आयात नहुने

काठमाडौँ – बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो ।

यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा ३ लाख माला भारतबाट ल्याइएको थियो ।

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए ।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनका अध्यक्ष श्रेष्ठले बताए । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँ फूलको कारोबार हुने गरेको थियो । श्रेष्ठले भने, ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोबारमा केही कमी हुन्छ ।’ अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

यसअघिका वर्षमा करीब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौं उपत्यकाका ३ जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौं उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ । -रासस

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका