नेपाली खोज
शुक्रबार, माघ २, २०७७
  • होमपेज
  • महिला समूहले आफू साक्षर हुन अण्डा र तरकारी बिक्री गर्दै

महिला समूहले आफू साक्षर हुन अण्डा र तरकारी बिक्री गर्दै

  • Nirmala Karki
  • बिहिबार, कार्तिक ६, २०७७
महिला समूहले आफू साक्षर हुन अण्डा र तरकारी बिक्री गर्दै

सिमकोट, ६ कात्तिकः हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोट पानीमूल गाउँको महिला समूहले आफू साक्षर हुनका लागि अण्डा र तरकारी बिक्री गरी आएको पैसाले शिक्षिकालाई पारिश्रमिक दिने गरेको छ । पच्चीस महिलाको समूहले साक्षरता कक्षाका लागि शिक्षिका राखी अण्डा र तरकारी बेची प्राप्त आय उनलाई दिने गरेको हो ।

सहभागी देवीसरा जैसीले सबैतिर विभिन्न संघसंस्था, गाउँपालिकालगायतले साक्षर कक्षा सञ्चालन गरेको देखेपछि आफूहरु महिला मिली पढ्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो गाउँका २५ जना महिलाको एक महिला समूह बनाएका छौंँ, समय मिलाएर बिहान, बेलुकी पढ्ने गछौंँ ।” विसं २०७७ साउन २ गतेदेखि सञ्चालन भएको साक्षरता कक्षाबाट दुई महिनाका अवधिमा ल्याप्चेबाट आफूहरु अहिले हस्ताक्षर गर्ने भएको सहभागी महिलाले बताएका छन् । यति मात्र नभएर कोही महिला त सानातिना हिसाब पनि गर्न सक्ने भएको अर्का सहभागी देउरुपा जैसी बताउनुहुन्छ ।

देवीसरा भन्नुहुन्छ, “श्रीमान्बाट पैसा लुकाएर, अंण्डा बेचेर बचत गरेको पैसा र आम्दानी शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो ।” कुनै सभा, भेलामा अगाडि जाँदा पनि अनपढ भनी हेलाँ गरेपछि पढ्ने निधो गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आमाबुवा शिक्षित भएको भए हामीलाई पनि पढाउँथे होला, नभएकाले आज दुःख भोगेका छौँ ।”महिलाहरुले प्रतिसदस्य पहिलो महिना रु २५ र अहिले रु ५० उठाएर पढिरहेका छन् । अब गाउँका अन्य महिलालाई पनि समेट्ने र गाउँ नै साक्षर बनाउने उनीहरुको लक्ष्य छ । कक्षा सञ्चालनको जानकारीपछि अहिले गाउँपालिका र सामाजिक संघसंस्थाले केही सहयोग गर्ने आश्वासन दिएको समूहले जनाएको छ (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका