नेपाली खोज
मङ्लबार, माघ ६, २०७७
  • होमपेज
  • महाकाली अस्पतालमा पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

महाकाली अस्पतालमा पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

  • Nirmala Karki
  • बुधबार, कार्तिक ५, २०७७
महाकाली अस्पतालमा पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

कञ्चनपुर, ५ कात्तिक : महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ । सङ्घ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम जम्मा गरी पिसीआर मेसिन जडान गर्नका लागि सहयोग गर्ने भएका हुन् ।

सङ्घीय सांसदले रु २० लाखका दरले, सुदूरपश्चिम प्रदेशसभा सदस्यले रु १० लाखका दरले, नगरपालिकाले रु १५ लाखका दरले र गाउँपालिकाले रु १० लाखका दरले रकम सहयोग गर्ने प्रतिबद्धता गरेको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

अस्पतालमा प्रयोगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाले पिसीआर मेसिन खरिद गरी तीन महिनाअघि नै उक्त अस्पताललाई हस्तान्तरण गरेको हो । नगरपालिकाले रु ३८ लाखमा मेसिन खरिद गरेको हो । जडान खर्चको अभाव हुँदा मेसिन सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा प्रयोगशाला निर्माणसहितका जनशक्ति व्यवस्थापन कार्य अगाडि बढेका छन् । भीमदत्त नगरपालिकाले जिल्ला समन्वय समिति, महाकाली अस्पतालबीच जिम्मेवारी बाँडफाँडसहितको सहमति भएर पिसीआर मेसिन सञ्चालनको कार्य अगाडि बढाइएको हो ।

जिल्ला समन्वय समितिको बैठकले पिसीआर मेसिन सञ्चालनका लागि चाहिने थप उपकरण खरिद गर्ने निर्णयसमेत गरेको छ । तीनवटै तहका जनप्रतिनिधिले गरेको प्रतिबद्धताअनुसार मेसिन सञ्चालनका लागि रु एक करोड २५ लाख रकम कोषमा सङ्कलन हुन लागेको छ । सङ्घ र प्रदेशका सांसदले पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट सहयोग गर्न लागेका हुन् ।

दशैँ खर्चको रकम कोरोना नियन्त्रण खातामा जम्मा दशैँ खर्चवापत पाएको रकम सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले मङ्लबार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम खातामा जम्मा गर्नुभएको छ ।

सुदूरपश्चिम सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा मन्त्री बोहराले रु ६३ हजार रकम जम्मा गर्नुभएको हो । कोरोना रोकथामका लागि सहयोग पु¥याउनका लागि मन्त्री बोहराले रकम खातामा जम्मा गर्नुभएको स्वकीय सचिव केशवराज अवस्थीले बताउनुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरीले समेत दशैँ खर्चवापत पाएको रु ६३ हजार रकम कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि उपलब्ध गराउनुभएको छ ।

यसैगरी जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य बलराम पन्तले दशैँ खर्चवापत पाएको रु १४ हजार ८५० रकम महाकाली अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको पिसीआर ल्याबका लागि उपलब्ध गराउनुभएको छ । दशैँ खर्चवापतको रकम उहाँले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्नुभएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका