नेपाली खोज
मङ्लबार, असार ८, २०७८
  • होमपेज
  • दुग्ध प्रशोधन परियोजनाको काम अघि बढ्दै

दुग्ध प्रशोधन परियोजनाको काम अघि बढ्दै

  • आइतवार, असार ७, २०७७
दुग्ध प्रशोधन परियोजनाको काम अघि बढ्दै

खस्यौली, ७ असार: तिलोत्तमा लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धतानुसार वडा नं ६ मा दुग्ध प्रशोधन परियोजना निर्माण हुने भएको छ । प्रदेश नं ५ सरकारले लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेड दर्ता गरेसँगै परियोजनाको काम अघि बढेको हो । किसानमा दूध बिक्रीको सुनिश्चितता गर्नाका साथै अधिक आर्थिक लाभ प्राप्त गर्ने र बजारमा गुणस्तरीय दूध तथा दुग्ध पदार्थ आपूर्तिको सुनिश्चितता गर्ने गरी रु ६० करोडको लगानीमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सहकारीकर्मीले परिकल्पना गरेको उच्चस्तरको प्रशोधन प्रविधि (युएचटी) को प्रयोग गरी प्रशोधन गरेर गुणस्तरीय दूध आपूर्ति गर्ने तथा अन्य विभिन्न परिकारसमेत तयार गरी बजारमा लैजाने योजनालाई सार्थकता दिनका निम्ति संस्था दर्ताले मार्गप्रशस्त गरेको संघका अध्यक्ष डा खगराज शर्माले बताउनुभयो । विसं २०७६ भदौ ३० गते सहकारीकर्मीको भेलाले उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरी लुम्बिनी विशिष्टीकृत सरकारी संघ गठन गर्न तदर्थ समिति गठन गरेको थियो ।

लगानी सम्मेलनमा गरिएको सम्झौतानुसार तिलोत्तमा नगरपालिकाले वडा नं ६ मा परियोजना कार्यान्वयनका लागि दुई बिघा १० कट्ठा जमीन भाडामा दिने निर्णय गरेकामा प्रदेश सरकारमा सहकारी दर्ता भएसँगै परियोजनाको काम अघि बढेको सङ्घका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । सहकारी संघ यही असार ५ गते भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्रालयको सहकारी महाशाखामा दर्ता भएको हो ।

यो प्रदेश नम्बर ५ को पहिलो र नेपालको दोस्रो विशिष्टीकृत सहकारी संघका रूपमा विधिवत् दर्ता भएको बताइएको छ । प्रदेश नम्बर ५ का १० जिल्ला कार्यक्षेत्र रहने गरी विभिन्न प्रकृतिका ५१ प्रारम्भिक सहकारी संस्थाको संलग्नता एवं प्रारम्भिक लगानीमा लुम्बिनी विशिष्टीकृत सहकारी संघ स्थापना भएको हो ।  डा शर्माले दुई वर्षभित्र उत्पादनलाई बजारसम्म लैजाने गरी काम अघि बढाइने बताउनुभयो । परियोजनाका लागि प्रदेश नं ५ सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ भने तिलोत्तमा नगरपालिकाले पनि बजेटमा सम्बोधन गर्ने जनाइएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका