नेपाली खोज
शनिबार, माघ ३, २०७७
  • होमपेज
  • बन्दाबन्दीको मारमा गरिब र मजदुर

बन्दाबन्दीको मारमा गरिब र मजदुर

  • बिहिबार, बैशाख ११, २०७७
बन्दाबन्दीको मारमा गरिब र मजदुर

– शुरबहादुर सिंह

, सुर्खेत, ११ वैशाख:  नेपाल बन्दाबन्दी घोषणा भएको आज एक महिना पुगेको छ । यो समयमा स्वदेश तथा विदेशमा धेरै नेपालीले सास्ती भोग्नुपरेको छ । ज्याला मजदुरीका लागि भारत गएका नेपाली त्यहाँबाट फर्कँदा बन्दाबन्दीमा परे । दर्जनौँ नेपाली मजदुर घर पुग्ने आसले दुई साता हिँडेर नेपाल पुगे तर उनीहरु अहिलेसम्म घर पुग्न पाएका छैनन् ।

दुई/तीन दिन उनीहरु नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परे । पानी र खाना पाउनु त कहाँ हो कहाँ ? भारतीय र नेपाली सुरक्षाकर्मीको गालीसहित लठ्ठी र बुट खानुपरेको तीतो अनुभव सिञ्जा गाउँपालिका–५ जुम्लाका जनक शाहीले व्यक्त गर्नुभयो । सरकार र मिडियालाई गुहारेपश्चात उनीहरु अहिले नेपाल भारतको सीमा जमुनाहनाकाको दशगजा क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाइनमा छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को रोग लाग्ने डरभन्दा भोकले मरिने चिन्तामा गरिब, विपन्न तथा मजदुर वर्ग छन् । यसको मारमा सबैभन्दा उनीहरु नै छन् । यद्यपि उनीहरुको नाममा भने सङ्घ, प्रदेश तथा स्थानीय सरकारहरुले राहत सङ्कलन गरिरहेका छन् । अन्य सरोकारवालाले पनि तिनै मजदुर गरिब वर्गका लागि भनेर राहत वितरण गरेको पाइन्छ । तथापि उनीहरुले राहत प्राप्त गरेको देखिँदैन ।

दैलेखका चेतन सापकोटा चैत ११ गते भारतको हिमाञ्चल प्रदेशबाट नेपाल आउने भनेर रुपडिया जमुनाह सीमामा आइपुगे । तीन दिनसम्म नेपाल प्रवेश गर्न नपाएपछि केही सीप नलागेर उहाँसहित पाँच जनाको टोली त्यहीबाट फेरि भारतीय भूमि हिमाञ्चलको मनाली पुगे । एकातिर नेपाल प्रवेश गर्न गाह्रो र अर्कोतिर सीमा क्षेत्रमा रहेका दुवै देशको प्रहरीले बढी दुःख दिन थालेपछि बाध्य भएर भारत फर्कनुपरेको उहाँले दुखेसो गर्नुभयो ।

स्वदेशमै कामका लागि फागुनमा सुर्खेत झरेका तिला गाउँपालिका जुम्लाका प्रदीप सुनारलगायत छ जना दुई महिनादेखि बन्दमै हुनुहुन्छ । काम नहुँदा खानाका लागि हातमुख जोर्न धौधौ हुन थालेको उहाँले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सरकार जो जहाँ छ त्यहाँ बस भन्छ । भोकै भए राहत दिन्छौँ भनेको पनि सुनेकै छौँ तर अहिलेसम्म न हामीले राहत पाएका छौँ न घर जान नै । खै हामीलाई कसले कहाँ कसरी राहत दिन्छन् ? त्यो पनि थाहा छैन ।”

तिला गाउँपालिका जुम्लाका चन्द्रबहादुर बुढाको समस्या पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, “जति गुहार माग्दा पनि कोही कसैले न घर जानका लागि उद्धार गर्छन् न त केही खानेकुरा दिन्छन् । खान नपाएर हामी तनावमा छौँ । हामी नहुँदा घरका परिवार चिन्तामा छन् । शक्ति र पहुँच भएका मान्छे गाडी चढेकै देख्छु । न हामीलाई प्रशासन देख्छ, न त सरकारले हाम्रा दुःख हेर्छ । जतिखेर पनि जहाँ छौँ त्यही मात्र बस भन्छ ।”

हुम्लाबासी कर्ण बोहोराले गरिब र पहुँच नभएका मान्छेमाथि मात्र यो देशले कानून लगाउने गरेको दोषारोपण गर्नुभयो । “बाठाटाँठा र शक्ति भएका मान्छे कोही हवाईजहाजमा त कोही गाडीमा गइसके । हामीलाई ई–पास हुनुपर्छ भन्छन् । के हो ई–पास ? हामीलाई थाहा नै छैन । मोबाइल चलाउन नुजान्ने मान्छेकन (नजान्ने मान्छेलाई) अनलाइनबाट ई–पासका लागि फारम भर्ने भन्छन्”, उहाँले गुनासो पोख्नुभयो ।

बन्दाबन्दीको मारमा समाजमा रहेको अपाङ्गता वर्ग पनि त्यत्तिकै परेको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका पूर्व केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन अद्यावधिक र पहिचान राम्रोसँग नहुँदा शहरमै पनि उनीहरुले बेबारिसे जीवन जीउनुपरेको बताउनुभयो । यो कोरोनाको महामारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर राहत तथा उद्धार गर्नुपर्ने केन्द्रीय सदस्य शाहीको भनाइ छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका