नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

  • बिहिबार, बैशाख ११, २०७७
घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

रामपुर, ११ वैशाख: पाल्पाको रम्भा गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर वितरण गरिरहेको छ । गाउँपालिकाका दुई हजार ५५७ जनालाई घरमै पुगेर भत्ता वितरण भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सामाजिक दूरी कायम गरेर स्यानिटाइजर, मास्क, पञ्जालगायत सामग्रीका साथ भक्ता वितरण भएको छ ।
गाउँपालिकाका पाँच वडामा जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको हो । लकडाउनका समयमा समयमा नै नपाउँदा समस्यामा परेका नागरिक अहिले घरमै आएर जनप्रतिनिधि र कर्मचारीले भत्ता दिँदा दङ्ग छन् ।

यसबाहेक गाउँपालिकाले दीर्घरोगी र नियमित औषधि सेवन गरिरहेका नागरिकलाई पनि घरघरमा पुगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । मुटु, दम, रक्तचाप, थाइराइड र युरिक एसिडका बिरामीलाई सोहीअनुसारका औषधि तथा सुत्केरी र गर्भवती महिलालाई आइरन चक्की वितरण गरिने गाउँपालिकाले जनाएको छ । तरकारी किन्न किसानकै बारीमा

लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएसँगै पाल्पाका गाउँगाउँमा कृषकको घर तथा खेतबारीमा तरकारी खरीद गर्न जाने क्रम बढ्दो छ । रामपुर नगरपालिका वडा नं ७ बहखोलाका सुकदेव न्यौपानेलाई तरकारी टिपेर बेच्न भ्याइनभ्याई छ । बन्दाबन्दीको समय लम्बिँदै जान थालेपछि उहाँको घरमा तरकारी खरीद गर्न व्यापारी तथा ग्राहक पुग्ने गरेका छन् ।
रामपुरका बेझाड र किसानबारी बजारदेखि ग्राहक तथा व्यापारी घरमै पुगेर तरकारी खरीद गर्न थालेपछि व्यवसायीमा उत्साह बढेको न्यौपानेले बताउनुभयो । “पहिला बजारमा लिएर जानुपथ्र्यो, अहिले घरमै आएर खरीद गरी लैजाने गरेका छन्, तरकारी बेच्न भ्याईनभ्याई छ”, उहाँले भन्नुभयो ।

उहाँले करीब पाँच रोपनी जग्गामा काँक्रा, लौका, घिँरौला र करेला जातका तरकारी लगाउनुभएको छ । उहाँ लकडाउनयता अहिलेसम्म खर्च कटाएर रु एक लाख ५० हजार बराबरको कृषिजन्य उत्पादन बिक्री गरिएको बताउनुहुन्छ ।
कोरोना भाइरस संक्रमणबाट जोगिन घरमा तरकारी लिन आउनेलाई दूरी कायम गरेर मात्र कृषकले बिक्री गर्ने गरेका छन् । सोही ठाउँकै तुलसी न्यौपानेलाई पनि तरकारी लगाउन र बेच्न भ्याइनभ्याई छ । बिहानको समय तरकारी बिक्री गर्ने तथा बाँकी समय बिरुवा लगाउने र गोडमेल गर्दैमा बित्ने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

लकडाउनले आफूलाई कृषि कार्यमा व्यस्त बनाएको अर्का कृषक रामपुर –४ बस्ने दिलबहादुर थापाले बताउनुभयो । “पहिला घरमा एकछिन काम सकाएर साथीभाइसँग गफ गर्ने, विभिन्न ठाउँमा घुमफिर गर्ने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले घरबाट बाहिर जान नभएपछि तरकारी लगाउने, टिप्ने बेच्ने कार्य भइरहेको छ ।”

उहाँले करीब दश रोपनी जग्गामा करेला, घिरौँला, लौका र बोडी जातका तरकारी लगाउनुभएको छ । उहाँले लकडाउनकै बेला रु एक लाखभन्दा बढीको तरकारी बिक्री गरिसक्नुभयो । जिल्लामा दुई हजार १२६ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिँदै आएको छ । जिल्लाका सबैजसो स्थानमा तरकारी खेती गरिए पनि मदनपोखरा, हार्थोक, पोखराथोक र मुझुङ्ग क्षेत्र तरकारीको मुख्य क्षेत्र मानिन्छन् । लकडाउनका कारण धेरैका भान्सामा कम तरकारी पाक्ने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।(रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका