नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • बीउ र मलको अभाव भएपछि किसान चिन्तित

बीउ र मलको अभाव भएपछि किसान चिन्तित

  • मङ्लबार, बैशाख ९, २०७७
बीउ र मलको अभाव भएपछि किसान चिन्तित

– रमेश गिरी

भक्तपुर, ९ वैशाख: जिल्लाको चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मकै, भटमास, धान, कोदो, फापरलगायतको बीउ वितरण शुरु गरकोे छ । लकडाउनका बेलामा कृषकलाई सहजरूपमा बीउ उपलब्ध गराउने लक्ष्यका साथ नगरपालिकाले वडा नं १ देखि ९ सम्मका सबै वडा कार्यालयबाट आजदेखि अनुदानमा बीउ वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । कृषकलाई खेतीबाली लगाउन आवश्यक बीउ अनुदानमा वितरण शुरु गरिएको उहाँले बताउनुभयो ।

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा गएर बीउ किन्न नसकेर बाली लगाउन समस्या हुने भएपछि किसानलाई वडाबाटै बीउ वितरण गर्न लागिएको हो । नगरपालिकाले पहिलो चरणमा मकै र भटमासको बीउ वितरण गर्ने भएको छ । मकै छर्ने बेला भएकाले किसानलाई मनकामना–३ जातको मकैको बीउ वितरण गर्न लागेको हो । बीउ वितरणका लागि नगरपालिकाले एक हजार १०० किलो मकै प्रतिकिलो रु १३० मा खरिद गरेर ल्याएको र किसानलाई ५० प्रतिशत अनुदानमा मकै र भटमासको बीउ वितरण गर्न शुरु गरेको नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।

मकै र भटमासको बीउ बजारमै पनि अभाव भएकाले नगरपालिकाले लक्ष्यअनुसारको खरिद गर्न नसक्दा भटमास ६०० किलो मात्रै वितरण गर्ने भएको छ । मकै अभाव भएमा कोदो र फापर रोप्नका लागि बीउ वितरण गर्नेछ । त्यसैगरी नगरपालिकाले दलित, जनजाति तथा लक्षित वर्गलाई कोदोको बीउ २०० किलो र फापरको बीउ २०० किलो निःशुल्क वितरण गर्ने भएको छ । विशेषगरी कोदो र फापर रोप्ने लक्षित वर्गका किसानलाई निःशुल्क बीउ वितरण गर्ने भएको हो । नगरपालिकाले दोस्रो चरणमा धानको बीउ वितरण गर्ने जनाएको छ ।

यसका लागि खुमल–१० र खुमलटार टाइचिन–२४२ जातको १० टन धानको बीउ यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो । प्रतिकिलो रु १०० मा खरिद गरेको धान किसानलाई प्रतिकिलो रु ५० मा वितरण गरिने भएको छ । धानको बीउ पनि वडा कार्यालयमार्फत वितरण गरिने बताइएको छ । नगरपालिकाले कृषकका लागि ल्याएको अनुदान कार्यक्रमले चाँगुनारायणका कृषकलाई निकै राहत पुग्ने विश्वास नगरपालिकाको छ । बीउ र मल अभाव लकडाउनका बेलामा मकै, धानको बीउ र रासायनिक मल अभाव भएपछि भक्तपुरका किसान चिन्तित भएका छन् ।

चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकका लागि बीउ वितरण शुरु गरे पनि जिल्लाका अन्य किसानलाई भने यसवर्ष समस्या पर्ने भएको छ । भक्तपुर नगरपालिका–१ च्यामासिंहका किसान रामकृष्ण प्रजापतिले यस वर्ष धानको बीउ अभाव हुने भएको बताउनुभयो । वैशाख अन्तिमसम्ममा धानको बीउ राख्नुपर्ने भए पनि लकडाउनका कारण पसल नखुल्दा बीउ किन्न समस्या हुने देखिएको बताउनुभयो ।

भक्तपुरमा एग्रोभेट सञ्चालन गर्दै आएका व्यापारी शिवकुमार थापाले यस वर्ष बीउको अभाव हुने बताउनुभयो । अहिले मकै र विभिन्न तरकारीलगायतको सिजन भए पनि नयाँ बीउ ल्याउन नपाएको र केही पुरानै बीउमात्रै बिक्री गर्नुपर्ने अवस्था आएको बताउनुभयो । बिहान एकछिन पसल खुल्दा बाँकी रहेका मकै, भटमास, बोडी, सिमी, फर्सी, काक्रोलगायतका बीउ पनि सकिएको छ तर बीउ माग भने भने उच्च रहेको उहाँले बताउनुभयो । धानको बीउ खोज्न किसान आउने गरे पनि बीउ ल्याउन नपाउँदा समस्या परेको उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रका किसान बजारसम्म पुग्न नसक्ने र बजारमा पनि बीउ अभाव भएकाले यस वर्ष किसानलाई मर्का पर्ने गरेको बीउ व्यापारी बताउँछन् । बीउ नै नपाइने र पाइए पनि ल्याउन समस्या भएकाले बीउ मागअनुसार बिक्री गर्न नसकिएको व्यापारीको भनाइ छ । यता किसानलाई रासायनिक मलको समेत चिन्ता परेको छ । कोरोना भाइरस महामारीका कारण भारतबाट रासायनिक मल पर्याप्त मात्रामा आयात गर्न नसकिएकाले मलको समेत अभाव भएको हो । किसानले मल नपाउँदा थप समस्या झेल्नुपर्ने र उत्पादनमा ह्रास आउनेमा उनीहरु चिन्तित छन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका