नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • आरडीटी टेष्टका लागि मुस्लिम समुदायका व्यक्तिको पहिचान गरिँदै

आरडीटी टेष्टका लागि मुस्लिम समुदायका व्यक्तिको पहिचान गरिँदै

  • मङ्लबार, बैशाख ९, २०७७
आरडीटी टेष्टका लागि मुस्लिम समुदायका व्यक्तिको पहिचान गरिँदै

काभ्रेपलाञ्चोक, ९ वैशाख: स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिरहेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । “स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडिटी गराइरहेका छौँ”, कार्यालयप्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार तीन दिनमा करिब ६० जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत हप्ता उदयपुरमा भेटिएका कारोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेपलाञ्चोकमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो । स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकतानुसार परीक्षण गर्दै आएको झाले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकतानुसार आरडिटी गर्छौँ, आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौँ ।”

कार्यालयले गरेको प्रारम्भिक पहिचानअनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको हो । बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) गर्नुपर्ने देखिएको छैन । “थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ”, झाले भन्नुभयो । उदयपुरमा आरडिटी गरिएको भारतीय मुस्लमको थप परीक्षणमा कारोना पोजेटिभ देखिएको थियो ।

बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मुस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको आरडिटीमा नेगेटिभ देखिए पनि पिसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।” उहाँका अनुसार २७ पुरुष र तीन महिलालाई ‘होम क्वारेन्टाइन’मै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौँदेखि बनेपामा बस्दै आएका छन् ।

यसअघि विभिन्न मुलुकबाट गत चैत महिनायता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडिटीमा कारोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका