नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • पोखराबाट पैदल हिँडेर रोल्पा हिँडेकी सुत्केरीको यसरि उद्धार गरि क्वारेन्टाइनमा राखियो

पोखराबाट पैदल हिँडेर रोल्पा हिँडेकी सुत्केरीको यसरि उद्धार गरि क्वारेन्टाइनमा राखियो

  • मङ्लबार, बैशाख ९, २०७७
पोखराबाट पैदल हिँडेर रोल्पा हिँडेकी सुत्केरीको यसरि उद्धार गरि क्वारेन्टाइनमा राखियो

बलेवा, ९ वैशाखः पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुग्नुभएको हो । उहाँसँगै आएका सोही गाउँका अन्य ६ जनासहित उहाँलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उहाँका श्रीमान् पनि सँगै हुनुहुन्छ । उहाँहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ । उहाँलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताउनुभयो । क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उहाँको भनाइ छ । बागलुङमा उहाँजस्तै ५२ मजदूरको आइतबार उद्धार गरिएको थियो । उहाँहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताउनुभयो । पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताउनुभयो । पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियाँै, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौँ’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भन्नुभयो, ‘घरै गए खेती गरेर खाऔँला ।’ (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका