नेपाली खोज
आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • ‘गुर्जाे खाऔँ, प्रतिरोध क्षमता बढाऔँ’

‘गुर्जाे खाऔँ, प्रतिरोध क्षमता बढाऔँ’

  • सोमवार, बैशाख ८, २०७७
‘गुर्जाे खाऔँ, प्रतिरोध क्षमता बढाऔँ’

–दुर्गा देवकोटा

लम्की, ८ वैशाख: कोभिड–१९ संक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जाे अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि कैलालीको टीकापुर आसपासमा अभाव हुन थालेको छ । नर्सरीमा फालाफाल पाइने गुर्जाे यतिखेर अभाव हुन थालेपछि कतिपयले मूल्य तिरेर ल्याउन थालेका छन् । यहाँ उद्योगी, प्राध्यापक, स्वास्थ्यकर्मी र योगसाधकले मात्र नभई यतिखेर सर्वसाधारणले गुर्जाे खान थालेका छन् । कसैले दिनमा एकपटक त कसैले सांँझबिहान दुई पटक खाने गरेका छन् । गुर्जाे, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको उनीहरुको भनाइ छ ।

‘‘गुर्जाे, मरीच, घोडताप्रे र बेसार मिसाएर पकाइएको एक चिया गिलास झोल साँझबिहान खाइरहेको छु’’, उद्योगपति सुरतबहादुर विष्टले भन्नुभयो, ‘‘गुर्जाेको झोल हाम्रो परिवारले एक लर्षदेखि खाइरहेको छ । हामीलाई फाइदा भएको महसुस भएको छ ।’’ उहाँले आफ्नो प्रयोगका लागि बारीमा गुर्जाे रोपिएको बताउनुभयो । ‘‘लकडाउनपछि गुर्जाे माग्न धेरै आउंँछन्, औषधि हो, सङ्कटका बेला दिनुपर्छ भनेर अलिअलि सबैलाई दिने गरेका छौँ’’, विष्टले भन्नुभयो, ‘‘गुर्जाे खानेको संख्या ह्वात्तै बढेको छ ।’’

गुर्जाे खोज्न महिलाहरु यतिखेर नर्सरीमा जाने गरेका छन् । “कोरोना भाइरस संक्रमणबाट बच्न गुर्जाे प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जाे खान थालेका छन्’’, स्थानीयवासी सीताकुमारी खनालले भन्नुभयो, ‘‘पहिले सजिलै पाइने गुर्जाे यतिखेर पाउन गाह्रो भएको छ ।’’ गुर्जो कैलालीका सबैजसो सामुदायिक वन तथा नर्सरीमा पाइन्छ । ‘‘यो लहराजस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ’’, खनाल भन्नुहुन्छ, ‘‘यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।’’

पछिल्लो समय आयुर्वेद स्वास्थ्यकर्मीले पनि गुर्जाेको प्रयोग गर्न सुझाव दिन थालेका छन् । ‘‘मानिसमा प्रतिरोधात्मक शक्ति बढाउने भएकाले गुर्जाेको नियमित प्रयोगले लाभ मिल्छ’’, टीकापुर आयुर्वेद अस्पतालका प्रमुख अशोककुमार मिश्रले भन्नुभयो, ‘‘सुत्केरीले बाहेक सबैले गुर्जाे प्रयोग गर्न सक्छन् । नेपालमा जहाँ पनि पाइने गुर्जाे जडिबुटीको रुपमा प्रयोग गर्ने बानी बसाल्न हो भने स्वस्थ रहन सकिन्छ ।’’

भागीरथी पोलिक्लिनिक टीकापुरका आयुर्वेदिक चिकित्सक बमबहादुर सिंह नेपाली गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई फाइदा गर्ने बताउनुहुन्छ । ‘‘प्रतिरोधात्मक शक्ति बढाउने भएकोले धेरैले सेवन गर्न थालेका छन्’’, डा नेपाली भन्नुहुन्छ, ‘‘गुर्जोसँगै अन्य औषधि पनि आवश्यक हुन्छ । यसको सेवनले घाटा भने गर्दैन ।’’ (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका