नेपाली खोज
शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • पशुहरुमा लागेको रोग नियन्त्रणले किसान खुशी

पशुहरुमा लागेको रोग नियन्त्रणले किसान खुशी

  • Govinda
  • शुक्रबार, अशोज २३, २०७७
पशुहरुमा लागेको रोग नियन्त्रणले किसान खुशी

सप्तरी, २३ असोज: पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा सुविधा पुगेको किसान रामदेव साहको भनाइ छ ।

पशुहरुमा रोग लागेर किसान प्रभावित भएका बेला नगरपालिकाले प्रदेश नं २ बाट विशेषज्ञ टोली ल्याइ सुक्ष्म तरिकाले रोगको अध्ययन अनुसन्धान गरी रोगलाई नियन्त्रण गरेकाले किसान औधी खुशी भएको खिलानाथ पोखरेलले बताउनुभयो । कोरोना भाइरसले थलिएको अवस्थामा पशुहरुमा समेत ‘लम्पी स्किन डिजिज’ रोग देखिएपछि किसान चिन्तित बनेका थिए । किसानको मर्कालाई बुझी तत्कालै नमूना सङ्कलन गरी रोगको नियन्त्रण गर्ने काम गरिएको नगरप्रमुख वसन्तकुमार मिश्रले बताउनुभयो । नगरपालिकाले भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट विशेषज्ञ टोली ल्याई नमूना सङ्कलन गरेको थियो ।

गत साउन र भदौ महिनामा रोगले सात पशुचौपायाको मृत्यु भएको थियो । पशु विकास अधिकृत दिवाकान्त चौधरीले दिएको जानकारीअनुसार रोगले प्रभावित बनेको २०४ थान पशुको उपचार गरी रोग नियन्त्रण गरिएको छ । पशु रोगले नगरपालिकाको वडा नं १ देखि ११ सम्म प्रभावित बनेको थियो । जसमा वडा नं ५, ६, ८ र ९ बढी प्रभावित हुनपुगेको स्थानीय किसान बताउँछन् ।

भूमि व्यवस्था तथा कृषि पशुपन्क्षी विकास मन्त्रालय प्रदेश नं २ जनकपुरधामबाट डा सञ्जीव ठाकुर, डा रञ्जित अधिकारी र डा शिवनन्दन यादवको विशेषज्ञ टोलीले ६० वटा पशुबाट नमूना सङ्कलन गरी उपचार गरेपछि रोग नियन्त्रणमा आएको पशुपन्क्षी विकास शाखा कञ्चनरुपले जनाएको छ । पशुपक्षी विकास शाखाका अनुसार नगरपालिकाले रु एक लाखको औषधि खरिद गरी किसानलाई वितरण गरेको र कृत्रिम गर्भाधानसमेत निःशुल्क गरेको छ । पशुपन्क्षी विकास शाखाले आर्थिक वर्ष २०७६÷७७ मा १० हजार ८३ पशुमा प्राथमिक उपचार गरेको जानकारी दिएको छ ।

यसैगरी १६० पशुमा माइनर सर्जिकल, १३५ मा गाइनोकोलोजिकल, दुई हजार ३७५ गोबर परीक्षण, २२ हजार ६७४ एचएसबिक्यू, आठ हजार पिपीआर र एक हजार ५०० किलो हिउँदे घाँसको बीउ वितरण गरिएको पशु विकास अधिकृत चौधरीले जानकारी दिनुभयो । पशुपन्क्षी विकास शाखाले गरेको कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुन थालेको किसान चन्द्रनारायण खड्गाले बताउनुभयो ।

यस्तै ३४७ गाई, ७५ भैँसी र ४९ बाख्राको कृत्रिम गर्भाधान गरेको शाखाले १४ वटा उन्नत जातको बोका वितरण गरेको जनाएको छ । शाखाले दुईपटक तीनदिने व्यावसायिक बाख्रापालन तालिम र एकपटक पोषण कार्यक्रम गरेको छ । कार्यक्रमसम्बन्धी स्थानीय सञ्चारमाध्यममा पहिले नै सूचना प्रवाह गर्ने गरिएको पशु विकास अधिकृत चौधरीले बताउनुभयो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका