नेपाली खोज
शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • वर्षेनी नारायणीको कटान : जोखिममा बस्ती

वर्षेनी नारायणीको कटान : जोखिममा बस्ती

  • आइतवार, साउन १८, २०७७
वर्षेनी नारायणीको कटान : जोखिममा बस्ती

– कृष्ण आचार्य

भरतपुर, १८ साउन: जब जब वर्षाको समय हुन्छ भरतपुर महानगरपालिका–२८ का बासिन्दालाई नारायणी नदीले गर्ने कटानको चिन्ता हुन्छ । कटान रोक्न स्थानीयवासी दिनरात नभनी काम गर्छन् । तटबन्धलाई मजबुत बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा स्थानीयवासी दौडधूप गर्दै अहोरात्र खटिन्छन् ।

नारायणीले वर्षेनी कटान गर्दै आएपछि आफै दिनरात खट्न बाध्य भएको स्थानीयवासी भीमसेन कुमालले बताउनुभयो । उहाँले बाढी बस्तीमा पस्ने डरले वर्षेनी त्रासमा बस्न बाध्य भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वर्ष नारायणीले कटान गर्छ, बर्खा लागेपछि डुबानको त्रास हुन्छ ।” विशेषगरी वडा नं २८ बाढीको उच्च जोखिममा छ । जोखिम रहेकै कारण यहाँका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । तटबन्धका लागि वर्षेनी लाखौं रुपैयाँ खर्च हुँदै आए पनि बाढीको जोखिम नटरेको कुमालले बताउनुभयो ।

न्यूरे चोक क्षेत्रको तटबन्ध वर्षेनी बाढीले बगाउने गरेको छ । एक ठाउँमा तटबन्ध ग¥यो अर्को ठाउँमा भत्काउने समस्याले जोखिम बढ्दो छ । साउन पहिलो साता आएको बाढीले पनि केही स्पर बगाएको नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मेघनाथ शर्माले बताउनुभयो ।

उहाँले सो क्षेत्रमा कटान नियन्त्रणका लागि निरन्तर प्रयास गर्दा पनि सफल हुन नसकेको जानकारी दिनुभयो । उहाँले नारायणी नदी तटीय क्षेत्रमा वर्षेनी बाढीको उच्च जोखिममा पर्ने गरेको बताउनुभयो । आयोजनाले प्रयाप्त बजेट अभावका कारण सोचे अनुरुप काम गर्न नसकेको उहाँको भनाइ छ ।

साउन पहिलो साता आएको नारायणीको बाढीले महानगरपालिकाका वडा नं २६, २७ र २८ का केही भाग डुबानमा परेका थिए । भगडीबाट प्रवेश गरेको बाढीले मानवीय क्षति गरेन । तर मुख्य चुनौती भनेको न्यूरे चोकको तटबन्ध हो । सो तटबन्धलाई बाढीले भत्काए सबै भन्दा बढी वडा नं २८ मा मानवीय र भौतिक क्षति पुग्ने छ । यहाँ रहेका एक हजार ७०० घरधुरीमध्ये एक हजार घरधुरी उच्च जोखिममा रहेका वडा नं २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताउनुभयो ।

उहाँले बाढीकै कारण सो क्षेत्रमा हजारौं बिघा क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको जानकारी दिनुभयो । न्यूरे चोक आसपासको क्षेत्रमा तटबन्धनका लागि वर्षेनी रु ४० लाखसम्म खर्च भइरहेको नदी व्यवस्थापन आयोजनाले जनाएको छ । २०५९ सालदेखि निरन्तर त्यस क्षेत्रमा तटबन्धन हुँदै आए पनि अझै शान्तसँग श्वास फेर्न नपाएको अर्का स्थानीयवासी रञ्जन तामाङले बताउनुभयो ।

दीर्घकालीन समस्या समाधानको आश्वासन प्रत्येक वर्ष आउने गरे पनि समाधान हुन नसकेको उहाँको भनाइ छ । असार अन्तिमसाता मात्रै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो क्षेत्रको स्थलगत अवलोकन गरेर दीर्घकालीन रुपमा तटबन्धन गरिने प्रतिबद्धता जनाउनुभएको थियो । तटबन्धका लागि यसवर्षदेखि प्रर्याप्त बजेट विनियोजन गरिने उहाँको भनाइ थियो । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका