नेपाली खोज
आइतवार, साउन २५, २०७७
  • होमपेज
  • मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

कास्की, १५ साउन: गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले बाढी, पहिराका कारण सडक सम्पर्क विच्छेद भएका मनाङ र मुस्ताङ जिल्लामा तत्काल सडक सञ्चालन गराउन सरकारलाई निर्देशन दिएको छ । वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पुर्याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले स्थानीय तह जोड्ने, प्रादेशिक तथा सङ्घीय सरकारको दायित्वभित्र रहेका सडक समेत तत्काल मर्मत गरी व्यवस्थितरुपमा अघि बढाउन र नहर, कुलो, खानेपानीलगायतमा पुगेको क्षतिबाट जनजीवन प्रभावित भएकाले विपद्का बेला ‘फास्ट ट्रयाक’बाट काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

बैठकमा मन्त्री बस्नेतले सडकलगायत पूर्वाधारमा पुगेको क्षति मर्मत र पुनःनिर्माणका लागि मन्त्रालयमा छुट्टै बजेट नभएको बताउँदै आन्तरिक मामिला मन्त्रालय मातहतको विपद् व्यवस्थापन कोषमा बजेट निकासा गरी तत्कालै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुस्ताङमा यातायात सञ्चालनका लागि सङ्घीय सरकारका प्राविधिकसँगसमेत समन्वय भइरहेको र हाल बेलिब्रिज राख्ने काम निरन्तर जारी रहेकाले एक÷दुई हप्तामा काम सम्पन्न हुने विश्वास मन्त्री बस्नेतको छ ।

चालू आर्थिक वर्षमा बजेटमा परेका सडक, सिँचाइ तथा खानेपानीका योजनाको मर्मतसम्भार तत्काल शुरु गर्ने तयारी गरे पनि निरन्तरको वर्षाका कारणले कठिनाइ भएको बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “बजेट परेका योजनामा वर्र्षा रोकिएलगत्तै काम हुन्छ, नपरेका ठाउँमा विपद् कोषबाटसमेत आवश्यक बजेट ल्याएर काम गर्छौं, खानेपानी र बत्तीको तत्कालै व्यवस्थापन हुन्छ ।”

समितिका सदस्य चन्द्रमोहन गौचनले तीन सातादेखि सडक सम्पर्क बिच्छेद हुँदा मुस्ताङमा खाद्यसङ्कट शुरु हुन लागेको र जनजीवन अस्तव्यस्त भएको बताउँदै सङ्कट हल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा समितिका सदस्य हरिशरण आचार्य, मीनबहादुर गुरुङ, डोबाटे विश्वकर्मा, सरिता गुरुङ लगायतले विपद्को प्रभावकारी सामना गर्दै अवरुद्ध क्षति पुगेका पूर्वाधारका काम अघि बढाउन माग गर्नुभयो ।

मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाले वर्षाका कारण प्रादेशिक तथा स्थानीय तहका केन्द्र जोड्ने ३४ सडक, दुई वटा झोलुङ्गे पुल, सिँचाइ नहर ९५ तथा खानेपानीका ५५ आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क रहेको जानकारी दिँदै प्राथमिकताका आधारमा मर्मतको काम अघि बढाइने बताउनुभयो । क्षति पुगेका संरचना सञ्चालन गर्नका लागि मात्र रु १० करोड बजेट आवश्यकपर्ने उहाँको भनाइ छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका