नेपाली खोज
मङ्लबार, साउन २०, २०७७

हालको खबर

  • होमपेज
  • ‘पुत्र कुपुत्र हुन सक्ला तर ‘माता कहिल्यै कुमात हुन्नन्’

‘पुत्र कुपुत्र हुन सक्ला तर ‘माता कहिल्यै कुमात हुन्नन्’

‘पुत्र कुपुत्र हुन सक्ला तर ‘माता कहिल्यै कुमात हुन्नन्’

चितवन, ११ साउन: युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह माथि पाठक समीक्षा गरिएको छ । ‘पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमात हुन्नन्’ भन्ने कथनलाई कथासङ्ग्रहले भताभुङ्ग बनाउँदै समाजमा विद्यमान विकृति तथा विसङ्गतिलाई मूल केन्द्रमा राखेको छ । सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तु समेटिएको सो कथासङ्ग्रह गत फागुन २६ गते पहिलोपटक सार्वजनिक भएको थियो । छोटो अवधिमा दोस्रो संस्करण प्रकाशन भएको छ । मोफशलमा रही दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ सञ्चारकर्मी पराजुलीका कथासङ्ग्रहलाई भँुडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

शनिबार यहाँ आयोजित कार्यक्रममा बोल्ने श्रष्टाले कथासङ्ग्रहले समाजमा हुने यौनजन्य विकृतिहरु शसक्त रुपमा उजागर गरेको धारणा व्यक्त गर्नुभयो । कथासङ्ग्रह भित्रका विभिन्न शीर्षकका दश कथा रहेका छन् । ‘अवैधानिक रुपमा गर्भधारण गरेका कारण कयौँ नवजात शिशुको हत्या गर्न विवश छन् माताहरु’ भन्ने तथ्यलाई सरल, आकर्षण र जीवन्त रुपमा प्रस्तुत गरेको उहाँहरुले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तकले समाजको यथार्थतालाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएकाले पाठकको रोजाइ वढी रहेको बताउनुभयो । गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन् । यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेको पाइन्छ ।

वरिष्ठ साहित्यकार तथा चितवन साहित्य परिषद्का पूर्वअध्यक्ष गायत्री श्रेष्ठले नारी प्रेम, करुणा र शक्तिसँगै उग्रचण्डी पनि भएको बताउनुभयो । “कुमाता कथासङ्ग्रहभित्र रहेका कथाको भाषा नदीजस्तै सलल बगेका छन् । सरल शब्दमा गहन भाव व्यक्त छन् । नारी संवेदनशीलतालाई सुक्ष्म रुपमा केलाइएका छन् । ” उहाँले भन्नुभयो, “ नेपाली समाजमा नारीहरुले भोगिरहेका समस्याको एउटा दस्ताबेज हो कुमाता ।”

महिला अधिकारकर्मी मीना खरेलले नारी संवेदना र पछिल्लो समय समाजमा देखिएका विकृति विसङ्गतिलाई कथासङग्रहले जीवन्त रुपमा चित्रण गरेको बताउनुभयो । परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले कथाहरुमा समावेश भएका आञ्चलिकताले कथा मार्मिक र सुन्दर बनेका छन् भन्नुभयो । समीक्षक तथा विश्लेषक रमेश प्रभातले कथामा विषयवस्तुसँगै साहित्यिक बन्नुपर्ने कुरामा जोड दिनुभयो । प्राध्यापक शान्ति शर्मा, कपिल अज्ञात र साहित्यकार केदारनाथ खनाललगायतले कथाभित्र नाटकीय तत्व थप्नुपर्ने सुझाव दिनुभयो ।

रामेश्वर पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा कुमाताका लेखक वसन्त पराजुलीले कुमाताभित्र कथाका सिद्धान्त, मान्यता र दर्शनलाई नपच्छाइएकाले मौलिक बनेको धारणा राख्नुभयोे । पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाले कथासङग्रह कथामा समेटिएका विषयवस्तुले पाठकको मन छुन सफल भएको बताउनुभयो ।

पत्रकारिता, यसमा पनि इमान्दार पत्रकारका पीडा र समस्यालाई गोताखोरले जस्तै गहिराइमा पुगेर कथासङग्रहले उजागर गरेको छ । नारी संवेदनाका दृष्टिले कुमाता कथासङग्रह सशक्त देखिन्छ । यसका सङग्रहित प्रायः कथाहरुमा नारी संवेदना कुनै न कुनै रुपमा प्रस्तुत भएका छन् ।

नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रुप लिन सक्छ । कुमाता बनाउन विवश बनाउने समाजलाई पुनः एकपटक गम्भीर रुपमा सोच्न बाध्य कथासङग्रहले बनाएको छ यस कथा सङग्रहका कथाहरुले । द्वन्द्वका सहभागी कार्यकर्ताको जीवनचर्या, निकुञ्ज क्षेत्र वरपरका सोझासाझा गाउँलेले भोग्नपरेका पीडा, दलित समस्या, बालसमस्या, चरम गरिबी, पति परदेश भएका पत्नीहरुको मानसिक अवस्था र मनोविज्ञान आदि कथाले चित्रण गरेको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका