नेपाली खोज
बुधबार, साउन २८, २०७७
  • होमपेज
  • भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौँः कृषिमन्त्री केसी

भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौँः कृषिमन्त्री केसी

भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौँः कृषिमन्त्री केसी

सुर्खेत, १५ असारः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भोकमरीको सम्भावित जोखिमबाट बच्न कृषि कर्म नियमित राख्न सबैमा आग्रह गर्नुभएको छ । सत्रौँ राष्ट्रिय धान दिवसका अवसरमा किसान तथा सम्पूर्ण नेपाली एवं कर्णालीवासीमा शुभकामना सन्देश दिँदै मन्त्री केसीले कोभिड–१९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने भएकाले कृषिसम्बन्धी सम्पूर्ण गतिविधि आवश्यक सतर्कता अपनाई नियमित राख्न किसानलाई आग्रह गर्नुभएको छ ।

कोभिड–१९ संक्रमणबाट सुरक्षित रही भौतिक दूरी कायम गर्दै धान दिवस तथा रोपाइँ महोत्सवमा सहभागी हुन र सङ्घीय सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला हुन वा २५ भन्दा बढी भएमा न्यूनतम निर्देशित दूरी (६ फिट) कायम गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउन उहाँले आग्रह गर्नुभएको छ ।

आगामी केही वर्षमा धानचामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्प साकार पार्न कर्णाली प्रदेशको भूमि व्यवस्था मन्त्रालयबाट धानबाली प्रवद्र्धनका प्रयाससमेत भइरहेको र धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको उहाँले सन्देशमार्फत जानकारी दिनुभएको छ ।

कर्णालीमा ३९ प्रतिशत रोपाइँ
शुभकामना सन्देशमार्फत कृषिमन्त्री केसीले कर्णाली प्रदेशमा हालसम्म ३९ प्रतिशत धान रोपाइँ भएको जानकारी दिनुभएको छ । कर्णालीको धान उत्पादनमा जम्मा ४९ हजार ४२५ मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार सबैभन्दा धेरै डोल्पा जिल्लामा २७६ हेक्टर क्षेत्रफलमा शतप्रतिशत र जुम्ला जिल्लामा दुई हजार ८०० हेक्टर क्षेत्रफलमध्ये ९७ प्रतिशत अर्थात् दुई हजार ७१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । रोग र भोकविरुद्ध साझा ढंगले लड्न सक्ने ऊर्जा पैदा भई बाँझो जमीन सदुपयोग गरी खाद्य उत्पादन वृद्धि गर्ने अभियानमा लाग्न उहाँले आह्वान पनि गर्नुभएको छ । (रासस)

Facebook Comments

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका